एक झलक (हेल्प नेपाल नेटवर्क)

रुखर्च भएको रकम

रु ४०,५४,७८५

कुल लाभान्वित संख्या

१२३२

युवा९०३

बालबालिका३२९

हेल्प नेपाल नेटवर्कको बारेमा

नेपालीहरुको सबैभन्दा ठूलो कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्क: “नेपालको लागि एक महिनामा एक डलर कोष” एक विश्वव्यापी स्वयंसेवी अभियान हो । विश्वका विभिन्न देशमा बसोबास गर्ने उदार हृदय भएका नेपालीको सहयोगबाट यस संस्थाले स्थापना गरेको प्रशासनिक अक्षयकोषद्वारा प्राप्त हुने व्याजबाट कर्मचारी र काठमाडौंस्थित ३ सदस्यीय कार्यालयको खर्च तथा अन्य सारा प्रशासनिक खर्चहरु व्यहोरिन्छ ।

यस कोषको स्थापनाले हेल्प नेपालको निमित्त आएको सारा सहयोग राशी यस संस्थाद्वारा सहयोग हुने आयोजनाहरुमा प्रत्यक्ष रुपमा खर्च हुन्छ । यस संस्थाका सबै कार्यकारी सदस्य तथा संयोजक स्वयंसेवकहरु हुन । नेपाल तथा विश्वभरी छरिएका नेपालीहरुलाई शिक्षा, स्वास्थ्य, दैविक प्रकोप राहत तथा ई-लाइब्रेरी जस्ता हितकारी क्षेत्रमा सहयोग गर्न प्रोत्साहित गर्नु नै हेल्प नेपाल नेटवर्कको मूख्य उद्देश्य हो ।

सन् १९९९ मा नेपाल र बेलायतमा नेपालीहरुद्वारा सँगै स्थापना गरिएको हेल्प नेपाल नेटवर्क हाल एक दर्जन भन्दा धेरै देशहरुमा फैलिसकेको छ । अस्ट्रेलिया , न्युजिल्याण्ड, स्वीडेन, नेपाल, बेलायत तथा संयुक्त राज्य अमेरिका जस्ता देशमा हेल्प नेपाल नेटवर्क हाल एक गैर लाभकारी कल्याणकारी संस्थाका रुपमा दर्ता भईसकेको छ । त्यसैगरी अष्ट्रिया, क्यानडा, डेनमार्क, आयरल्याण्ड, रुस, साउदी अरेबिया, दक्षिण कोरिया र कतार जस्ता देशमा बसोबास गर्ने नेपालीहरुद्वारा स्थापित हेल्प नेपाल नेटवर्कको अभियानमा सहयोग गर्दै आएका छन । यसैगरी हेल्प नेपालको सञ्जाल अन्य देशमा फैलिने क्रम पनि जारी छ ।

काठमाडौं स्थित हेल्प नेपाल नेटवर्क, नेपालले यस संस्थाद्वारा सहयोगित सर्व आयोजनाहरुको संयोजन तथा निगरानी गर्दछ । यस संस्थासँग आबद्ध एउटा सानो स्वयंसेवकहरुको समूह छ । उहाँहरुको लगनशिलता तथा मिहिनेत बिना सायद हेल्प नेपाल नेटवर्कले आज यति सफलता पाउने थिएन होला । यस संस्थाले विदेशमा बसोबास गर्ने नेपाललाई मात्र नभई नेपालमा बसोबास गर्ने नेपालीहरुलाई पनि सहयोग गर्ने प्रवृत्ति बसाल्न निरन्तर लागि परेको छ ।

विदेशमा “एक क्यान जुस वा बियर कम खाऔं, नेपाललाई सहयोग गरौं”, त्यसै गरी नेपालमा “एक प्लेट म:म कम खाऔं ” जस्ता अभियानद्धारा संस्थाले नेपालीहरुलाई नेपालकै निमित्त सहयोग गर्न प्रोत्साहित गरिरहेको छ । यदि हरेक व्यक्तिमा कल्याणकारी भावना स्थापना हुन सके हरेक समाज मात्रै नभई विश्वनै एउटा सुन्दर ठाउँ हुन्छ/ हुने थियो भन्ने विचारमा यस हेल्प नेपाल नेटवर्क विश्वास गर्दछ ।